बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी नेतृत्व चयनका लागि कांग्रेस–राप्रपा गठबन्धनविरुद्ध पाँच राजनीतिक शक्तिले संयुक्त प्यानल निर्माण गरेका छन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी, नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरबीच नौ पदमा भागबन्डा गरी चुनावी मोर्चाबन्दी गरिएको हो।

संयुक्त प्यानलबाट अध्यक्षमा देवीभक्त श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। विगतमा एमालेनिकट रहेका र पछिल्लो समय रास्वपानिकट मानिने श्रेष्ठलाई गठबन्धनले 'स्वतन्त्र व्यवसायी' को पहिचानसहित साझा उम्मेदवारका रूपमा अघि सारेको हो।

मोर्चाभित्र भएको सहमतिअनुसार नौ पदमा भागबन्डा गरी उम्मेदवार तय गरिएको छ। जसअनुसार रास्वपाले उपाध्यक्ष र एक महिला सदस्य पाएको छ। उपाध्यक्षमा टीकाराम उप्रेती उम्मेदवार बन्ने भएका छन् भने महिला सदस्यको नाम टुंगो लाग्न बाँकी छ।

यस्तै, एमालेको भागमा परेको सचिव पदमा प्रदीप खरेल र एक महिला सदस्यमा निर्मला खरेल ओडारी उम्मेदवार बन्ने भएका छन्।

श्रम संस्कृति पार्टीले पाएको कोषाध्यक्ष पदमा गंगा कन्दङवा उम्मेदवार बन्ने तय भएको छ। यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले एक खुला सदस्य तथा कांग्रेसको नियमित महाधिवेशन पक्षले एक खुला र एक महिला सदस्य पाएको छ, जसको नाम सार्वजनिक हुन बाँकी छ।

जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनपछि राष्ट्रिय राजनीतिमा फरक कित्तामा देखिएका एमाले र रास्वपा स्थानीय उपभोक्ता संस्थाको निर्वाचनमा भने एउटै प्यानलमा उभिएका छन्।

राजनीतिक सिद्धान्त र राष्ट्रिय मुद्दामा प्रतिस्पर्धा गरिरहेका दलहरू स्थानीय तहको संस्थागत नेतृत्वका लागि एउटै मोर्चामा आउनुले चुनावी समीकरणको बदलिँदो स्वरूप देखाएको छ।

एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले आफूले पहल गरेर साना–ठूला र नयाँ–पुराना दललाई एउटै मोर्चामा ल्याएको बताएका छन्।

विभिन्न राजनीतिक शक्तिबीच सहकार्य गराएर संयुक्त उम्मेदवारी दिने वातावरण बनाइएको उनको भनाइ छ। यता, रास्वपा बिर्तामोडका सभापति दीपक दाहालले पद बाँडफाँटमा सहमति भइसकेको तर सबै दलबाट उम्मेदवारको नाम प्राप्त नभएकाले संयुक्त गठबन्धनको औपचारिक घोषणा हुन बाँकी रहेको जानकारी दिएका छन्।