नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीबीचको भेटलाई नेपाल–भारत सम्बन्धका प्राथमिकता तथा आर्थिक सहकार्यका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
हैदराबाद हाउसमा आयोजित भेटवार्ताअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। त्यसपछि दुवै प्रधानमन्त्रीबीच भेटवार्ता सुरु भएको हो। भेटमा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन्। भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी छन्।
दुई प्रधानमन्त्रीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा पनि प्रधानमन्त्री शाह सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहको भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तार मुख्य चासोका विषय छन्। नेपाल र भारतबीचको व्यापार घाटा, नेपाली वस्तुको भारतीय बजारमा पहुँच, पारवहन सुविधा र सीमापार पूर्वाधार विकासलाई आर्थिक सम्बन्धको महत्त्वपूर्ण पक्षका रूपमा लिइएको छ। दुई देशबीच ऊर्जा व्यापार र जलविद्युत् क्षेत्रमा लगानी विस्तारको सम्भावना पनि छलफलका प्रमुख विषय हुन्।
नेपालले भारतसँगको सम्बन्धमा व्यापार तथा पारवहन सहजीकरण, ऊर्जा निर्यातका लागि थप बजार र पूर्वाधार निर्माणमा सहकार्यलाई प्राथमिकता दिँदै आएको छ। भारत नेपालका लागि ठूलो व्यापारिक साझेदार र नेपाली जलविद्युत्को प्रमुख बजारमध्ये एक भएकाले ऊर्जा क्षेत्रमा हुने सहमतिले दीर्घकालीन आर्थिक प्रभाव पार्न सक्छ।
यसै भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलालेख प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा डिजिटल माध्यमबाट अनावरण गर्ने कार्यक्रम पनि छ। करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना भारतीय कम्पनी सतलज जलविद्युत् निगमअन्तर्गत निर्माण हुने परियोजना हो। यसले भ्रमणमा ऊर्जा सहकार्यलाई विशेष स्थान दिएको देखाउँछ।
दुई देशबीच कनेक्टिभिटी, सडक तथा रेलमार्ग, व्यापारिक नाका, पारवहन र सीमापार पूर्वाधार विस्तारका विषय पनि महत्त्वपूर्ण छन्। नेपालका लागि भारतीय बन्दरगाह तथा पारवहन मार्गको सहज उपयोग, सीमामा हुने व्यापारिक प्रक्रियाको सुधार र भौतिक सम्पर्क सञ्जाल विस्तारले आयात–निर्यात लागत घटाउन तथा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा छ।
आर्थिक विषयसँगै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, संस्कृति, जनस्तरको सम्बन्ध, विपद् व्यवस्थापन र मानव संसाधन विकासमा सहकार्यका विषय पनि दुई देशबीचको छलफलमा समेटिने अपेक्षा गरिएको छ। बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा सहकार्यको सम्भावना पनि भ्रमणको सन्दर्भमा महत्त्वपूर्ण छ।
यसअघि सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो। भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएपछि शाह हैदराबाद हाउस पुगेका हुन्। त्यसअघि उनले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ। दुईदिने राजकीय भ्रमण पूरा गरी उनी सोमबार साँझ नेपाल फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको यो भ्रमणले नेपाल–भारत सम्बन्धमा आर्थिक सहकार्यलाई थप गति दिने अपेक्षा गरिएको छ। तर, भ्रमणबाट हुने उपलब्धि द्विपक्षीय छलफलमा उठाइएका विषयलाई कति ठोस सम्झौता, कार्ययोजना र समयसीमामा रूपान्तरण गरिन्छ भन्नेमा निर्भर हुनेछ। व्यापार घाटा, पारवहन समस्या, ऊर्जा बजार र पूर्वाधार निर्माणजस्ता लामो समयदेखि उठ्दै आएका विषयमा व्यावहारिक प्रगति हुनु नै भ्रमणको उपलब्धि मापन गर्ने आधार हुनेछ।














