झापामा आधुनिक थिएटरमा नाटक हेर्ने दर्शक बढ्दै गएका छन् । यो साता जिल्लाको दमक र काँकडभिट्टामा दुई अलगअलग थिएटरमा मञ्चन भएका नाटकले वाहवाही पाएका छन् ।

परिवर्तन थिएटरले आदिवासी मेचे समुदायको कथावस्तुमा आधारित ‘म्लेच्छ’ नामक नाटक मञ्चन ग¥यो भने दमकको कदम थिएटरले प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नामक प्रस्तुत गरेको थियो ।

‘म्लेच्छ’का लेखक पर्वत पोर्तेलले दर्शकबाट पाएको माया र प्रतिक्रियाबाट आफू उत्साहित बनेको बताउनुभयो । अघोरी जङ्गल फाँडेर बसोबास गरेका आदिवासीहरू कसरी आफ्नो थातथलोबाट बेदखल भए र उनीहरूमाथि राज्यले कसरी विभेद ग¥यो भन्ने इतिहासलाई नाटकमार्फत प्रस्तुत गरिएको यहाँले जानकारी दिनुभयो ।

जिल्लामा थिएटरमा नाटक हेर्ने संस्थागत चलन सुरु भएको एक दशकभन्दा धेरै भएको छैन । छोटो अवधिमै कलाकारको मेहनत र दर्शकको मायाले थिएटर संस्कृति मौलाएको छ । आजसम्म मञ्चन हुने नाटक ‘म्लेच्छ’ले एक सातामा पाँच हजार दर्शक बटुलेको बताइएको छ ।

कदम थिएटरमा प्रस्तुत ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ हेर्न दर्शकको घुइँचो लागेको थिएटरका महासचिव कमन देवानले बताउनुभयो । उहाँका अनुसार यसअघिका नाटकमा पनि दर्शकको उपस्थिति धैरै रहने गरेको थियो ।

दोस्रो विश्वयुद्धमा बर्मा (हाल म्यान्मार)मा जापानी फौजले आक्रमण गरेपछि त्यहाँका नेपालीमूलका बासिन्दा ज्यान जोगाउन कयौँ रात र दिन जङ्गलको बाटो हिँडेका थिए । त्यही क्रममा जयमाया कसरी लिखापानी भन्ने ठाउँमा एक्लै आइपुगिन् भन्ने कथा इन्द्रबहादुर राईले लेख्नुभएको थियो । नाटकमा त्यही कथा देखाइएको देवानले जानकारी दिनुभयो ।

झापाको बिर्तामोडमा क्षितिज नाट्य समूहले आधुनिक नाटकघर र सङ्ग्रहालय निर्माणका लागि अभियान सञ्चालन गरिरहेको छ । “यहाँ नाटक मन पराउने र माया गर्ने दर्शकको खाँचो छैन”, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले भन्नुभयो, “सरकारी तहबाट चाहिँ यसको महत्व नबुझेको देख्दा अचम्म लागेर आउँछ ।”

काँकडभिट्टामा सुविधासम्पन्न आधुनिक थिएटर बनाउन परिवर्तन थिएटरले पहल गरेको आधा दशक बिते पनि हालसम्म थिएटरले जग्गा र दाता नभेटेको थिएटरकी अध्यक्ष कविता नेपालले बताउनुभयो । उहाँले नगरपालिकाले पनि सहयोग नगरेको बताउनुभयो ।

“मेची सामुदायिक भवनको एउटा हललाई सजावट गरेर कामचलाउ थिएटर कक्ष बनाएका छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “कोरोना महामारीपछि नाटक मञ्चनमा केही शिथिलता आएको थियो । अहिले फेरि नयाँ नाटक देखाउन थालिसकेका छौँ ।” उहाँले आफ्नै भवन बनाउन आर्थिक सहयोगको आह्वान गरे पनि सहयोग नपाउँदा भवन निर्माण ढिलाइ भइरहेको बताउनुभयो ।

झापाका नाट्यकर्मीको सिर्जनात्मक क्षमता अन्तर्राष्ट्रियस्तरको भएको नाटक ‘म्लेच्छ’ हेर्नुभएको मेचीनगर–६ का शङ्कर भट्टराईले बताउनुभयो । कला, साहित्य, पत्रकारिता, खेलकुदलगायत क्षेत्रमा राज्यले मुठ्ठी खोलेर सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।