पूर्व क्षेत्रमा संचालित मैदा उद्योगहरु गहुँको अभावमा बन्द हुने अवस्थामा पुगेको बेला गहुँ आयात शुरु भएपछि उद्योगहरु पुनः संचालनमा आएका छन् ।

उद्योग बन्द हुने अवस्था आएपछि नेपाल सरकारको आग्रहमा भारत सरकारले करिब ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा दिएपछि मैदा उद्योगहरु संचालन हुन थालेका हुन् ।

यस वर्षपर्याप्त गहुँ उत्पादन नभएको र गहुँको मूल्य बढ्न थालेकाले ट्रेडरहरुले गहुँ संचिती गर्न थालेपछि गहुँको अभाव हुन थालेको थियो ।

विगत ३ महिना देखि गहुँ आयात हुन थालेको र अहिले सम्म करिब १ लाख मेट्रिक टन गहुँ आयात भईसकेको नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रीय सचिव विकास बेगवानीले जानकारी दिनुभयो ।

गहुँ आयात हुन थालेपछि अहिले ४४ रुपैया प्रति किलोमा स्थिर रहेको छ । गत वर्षयसै समयमा गहुँको मुल्य ६४ रुपैया प्रति किलो सम्म पुगेको थियो । गहुँको संचिती गर्ने प्रवृत्ति बढेपछि गहुँको मुल्य ४२ रुपैया प्रति किलोबाट बढेर ४७ रुपैया प्रति किलो सम्म पुगेको थियो ।

नेपालमा करिब ९ लाख मेट्रिक टन गहुँ आवश्यक पर्नेमा करिब ३ लाख मेट्रिक टन न्यून हुदै आएकोमा मैदा उद्योगीहरुले ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा माग्न आग्रह गर्दै आएका थिए ।