झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आजबाट नकआउट चरणका खेलहरु शुरु हुने भएका छन् । नकआउट चरणमा आठवटा पालिका पुगेका छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् ।

खेल तालिका अनुसार पहिलो क्वार्टर फाइनल खेल आज बुद्धशान्ति गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ भने दोस्रो क्वार्टर फाइनल खेल आजै झापा गाउँपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

त्यस्तै, तेस्रो कवार्टर फाइनल खेल भोलि मंसिर २० गते अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाबीच हुनेछ भने अन्तिम क्वार्टर फाइनल खेल मेचीनगर नगरपालिका र गौरादह नगरपालिकाबीच हुने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

लिग चरणमा एउटा समूहबाट विजेता र उपविजेता हुँदै टिम नकआउटमा प्रवेश गरेका हुन् । समूह क बाट बुद्धशान्ति र बिर्तामोड, समूह ख बाट झापा र गौरादह, समूह ग बाट मेचीनगर र भद्रपुर तथा समूह घ बाट अर्जुनधारा र शिवसताक्षी क्रमशः विजेता र उपविजेता बन्दै क्वार्टर फाइनल प्रवेश गरेका हुन् ।