मेचीनगर । भरत भाबुक प्रसाई, झापाको मेचीनगर नगरपालिका १२ सहरेडाँगीस्थित भद्रकाली टोलको श्री पञ्चवटी वीरभद्र महाकाली धाममा आयोजित पुराणको आम्दानी र खर्च सार्वजनिक गरिएकाे छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै पुराण आयोजक मूल समारोह समितिले मंसिर १५ गतेबाट २१ गतेसम्म संचालित पुराणको आम्दानी र खर्च सार्वजनिक गरेको हो ।
पुराणमा ४१ लाख २५ हजार ४ सय २७ रुपैँया रकम संकलन भएको पुराण मुल आयोजक समारोह समितिका सचिव प्रेमराज घिमिरेले जानकारी दिनुभयो ।
जसमा दाताहरुबाट ३६ लाख ४९ हजार १ सय ६५ रुपैँया संकलन भएको छ भने पुराणमा संकलित धान बिक्रीबाट ३ लाख ७३ हजार ९ सय ५०, चामल बिक्रीबाट ३२ हजार ७ सय ५० सहित अन्य क्षेत्रबाट रकम संङ्कलित भएको हो ।
पुराणमा २३ लाख ३४ हजार ६ सय ८१ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, जेष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने मुख्य उद्येश्यले पुराणको आयोजना गरिएको सचिव घिमिरेले बताउनुभयो ।
आर्थिक मन्दिको समयमा संचालन गरिएको पुराणबाट यत्तिको रकम संकलन हुनु गौरवको विषय भएको पुराण आयोजक मुल समारोह समितिका संयोजक तिलकप्रसाद गिरीले बताउनु भयो ।
संकलित रकमलाई हिनामीना हुन नदिइ पारदर्शी ढङ्गले सदुपयोग गरिने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।














