झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

स्कुलले आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेशिनबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनको उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।
वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनीको भाग क्षतविक्षत अवस्थामा छ ।

विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा अन्य एक जना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।