प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएको एक हप्ता पुग्न लाग्दासमेत दुई पक्षबीच कुनै छलफल हुन सकेको छैन । 

प्रधानमन्त्री प्रचण्डले गत मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

तर, प्रतिष्ठानका उपकुलपति डाक्टर प्रा.डा. प्रह्लाद कार्कीले छलफल तथा कार्यकारिणी समितिको बैठक काठमाडौँमै राख्न चाहेपछि समस्या समाधान हुन नसकेको हो । शिक्षक र कर्मचारीहरूले भने बिपी प्रतिष्ठानभित्रै छलफल हुनुपर्नेमा जोड दिएका छन् । शिक्षकहरूले दबाबमूलक कार्यक्रमहरू भने अहिले पनि गरिरहेको जनाएको छ ।

तर, अहिले कुनै पनि बन्द हडतालको कार्यक्रम भने नरहेको आन्दोलनरत पक्षले जनाएको छ ।

यस्तै यही विवादका कारण धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाएको ताला समेत खुलाइएको छ ।