बिर्तामोड । आज सम्पन्न नेपाली कांग्रेस झापाको विस्तारित बैठकले शहीद दिवसको अवसर पारेर यही माघ १६ गते नेपाली कांग्रेसका अग्रज नेता, प्रजातान्त्रिक योद्धा र शहीदहरुको सम्झना र सम्मानमा विभिन्न १० स्थानमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र केन्द्रीय प्रतिनिधि मधु आचार्यको प्रमुख आतिथ्यमा जिल्लाका पदाधिकारी, सदस्य, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ/नगर सभापतिहरुको सहभागितामा आज सम्पन्न जिल्ला समितिको विस्तारित बैठकले कांग्रेसका अग्रज नेता एवं शहीदहरुको प्रतिमामा माल्यार्पण एवं स्मृतिसभा गरी शहीद दिवससँगै समुदायमा कांग्रेस अभियान शुभारम्भ गर्ने निर्णय गरेको हो ।
यसैगरी झापा क्षेत्र नं–४ मा तुर्सा हेमरम स्मृति प्रतिष्ठानमा पार्टीका सभापति देउकुमार थेवे, श्यामसुन्दर यादवको स्मृतिसभा वी।पी। स्मृति भवन गौरादहमा पार्टीका उपसभापति शेरबहादुर भट्टराईलाई प्रतिनिधि तय गरिएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
जस अन्तरगत क्षेत्र नं १ मा याम आचार्य स्मृति प्रतिष्ठान बुद्धशान्तिमा पार्टीका उपसभापति केशवराज पाण्डे, शहीद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठान बाहुनडाँगीमा समुदायमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि मधु आचार्य र वी।पी। स्मृति प्रतिष्ठान चन्द्रगढीमा जिल्ला सचिव कृष्ण हुमागाईलाई प्रतिनिधि पठाउने निर्णय भएको छ ।
पार्टीका अग्रज नेता एवं शहीदहरुको सम्मान र स्मृतिमा हुने कार्यक्रमका बीच जनताका अपेक्षा, सुझाव र गुनासो सुनेर सम्बन्धित तहमा कार्यान्वयनका लागि पहलकदमी गर्ने र पार्टीको नीति निर्माणमा समेट्ने उद्देश्यसहित नेपाली कांग्रेसले यही माघ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको समुदायमा कांग्रेस अभियानको पनि शुभारम्भ गरिनेछ ।
अभियानका क्रममा खुल्ला छलफल, समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाह अवलोकन, स्थानीय सरकार–वडा कार्यालयमा भ्रमण र संवाद लगायतका कार्यक्रम तय गरिएको केन्द्रीय प्रतिनिधि मधु आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार खुल्ला छलफलमार्फत तीनै तहका सरकारसँग जनताका अपेक्षा, गुनासा सुन्दै सुझाव संकलन गर्ने, समूहगत छलफलमा वडास्थित नागरिक समाज, शिक्षक, प्राध्यापक, आमा समूह, युवा समूह, कृषक समूह, स्वास्थ्य समितिहरु, ब्यवसायिक समूहसँग, मजदुरसँग छलफल गरिने बताइएको छ ।














