बिर्तामोड । भरत भाबुक प्रसाई,सिम्रिक साकोस, सुन्दर निचाझोडा वन उपभोक्ता समिति र बिर्तामोड वडा नम्वर ७ को संयुक्त आयोजनामा २ सय ४० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

प्रतिनिधी सभाका सभामुख देवराज घिमिरले व्यानर पढेर उद्घाट्न गर्नु भएको कार्यक्रम वडा नम्वर ७ मा अवस्थित शहिद नेत्रलाल पार्कमा सम्पन्न गरिएको हो ।

कार्यक्रका प्रमुख अतिथी प्रतिनिधी सभाका सभामुख घिमिरले आफूले पार्टी परित्याग गरे पनि झापा भित्र रहेका राजनैतिक दलसंग सम्पर्क मै रहेको बताउनु भयो । उहाँले हात्तीको समस्या झापामा झन विकराल बन्दै गएको बताउनु भयो ।

 सभामुख घिमिरले आफ्नो पहलमा आर्थिक मन्दीको बेलामा पनि २ करोड बजेट निकासा गराइदिन सफल भएको बताउनु भयो ।

 जनहितमा जारी

प्रमुख अतिथि प्रतिनिधी सभाका सभामुख घिमिरले शहिद नेत्रलाल पार्कको अवलोकन गर्दै भौतिक संरचनाको बिकासका लागि आफूले सकेजति सहयोग गर्ने बताउनु भयो ।


कार्यक्रमलाई स्वागत गर्दै बिर्तामोड नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कृष्ण अविरल खरेलले शहिद नेत्रलाल पार्कमा जनस्तरको सहभागिताका लागी निशुल्क पिकनिक स्पट सञ्चालनमा ल्याउने बताउनु भयो ।


कार्यक्रको औचित्यमाथि प्रकाश पार्दै सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सहकारीले ऋण र बचतको कारोबार मात्र गर्छ भनेर बुभ्न नहुने बताउनु भयो ।


उहाँले सहकारीले आफ्नो शेयर सदस्यको चासो र सामाजिक उत्तरदायित्वलाई बहन गर्ने उद्धेश्यले आफ्ना गतिविधिहरु सञ्चालनमा गर्ने गरेको बताउनु भयो ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले झापाका विभिन्न स्थानमा हात्तीले जनतालाई त्रसित बनाइरहेको बेलाका प्रतिनिधि सभाका सभामुख घिमिरको पहलमा फेन्सिङलगायत हाती नियन्त्रण गर्ने अन्य भौतिक सामाग्री खरिदका निम्ति बजेट आउनु झापाबासीका लागि सुखद कुरा भएको बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य एकराज कार्की, सुन्दर निचाझोड बन समितिका अध्यक्ष बद्री प्याकुरेल, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईलगायतले मन्तव्य राख्नु भएको थियो ।