बिर्तामोड । छैटौँँ संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ ।

यही फागुन १९ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु गरिएको हो । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट मानिन्छ ।

खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले बताए ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।