कन्याम, श्रीअन्तुसँगै झन्डीडाँडालाई पनि समावेश गरेर एकीकृत पर्यटकीय अवधारणा तयार पारेर कार्यान्वयन गर्न सकिएको खण्डमा इलामको पर्यटन उद्योगमा मात्रै नभएर नेपालकै पर्यटन उद्योगमा टेवा दिने सम्भावना देखिन्छ आसपासमा रहेका यी तीनै पर्यटकीय गन्तव्यहरुको अलग र फरक विषेशता रहेको छ ।
कन्याम, श्रीअन्तु र झन्डी डाँडाको यही फरक र अलग विशेषतालाई समावेश गरेर यस क्षेत्रको विकास र ‘टुर प्याकेज’ निर्माण गरिए कम्तीमा यो क्षेत्रका आएका पर्यटक २/३ दिनदेखि एक हप्तासम्म आनन्दका साथ घुम्न सक्छन् ।
कम्तीमा कन्याममा चियाबारी घुम्न आएका पर्यटकहरु श्रीअन्तुको झुल्के घाम हेर्न पुगोस् । श्रीअन्तुमा झुल्के घाम हेरेर फर्किएका पर्यटकहरु अन्तु पोखरीमा डुंगामा रमाएर कन्याममा घोडा चढेर रमाओस् ।
कुटीडाँडाको पाथीभारा दर्शन गरेर करसोङ्ग पदमार्ग हुँदै झन्डीडाँडामा पुगोस् । यसो गर्न सकिएमा इलामको पर्यटनमा नयाँ अध्याय सुरु हुन सक्ने सम्भावना छ ।
प्राकृतिक, सांस्कृतिक र धार्मिक विशेषता सहितको एकीकृत पर्यटन प्रवर्द्धन अवधारणा बढाउँदै लैजानुपर्ने आवश्यकता छ । त्यही बसहको लागि यो आलेख तयार पारिएको हो ।
पर्यटनलाई ठाउँ विशेषको पहिचानको रुपमा मात्र नभइ स्थानीय उत्पादन, व्यापार र आय आर्जनसँग समेत जोडेर हेर्नुपर्दछ । जसका लागि पर्यटकको बसाई अवधि बढाउन नितान्त जरुरी हुन्छ ।
अहिले करिब कन्याममा एक छिन् र अन्तुमा एक दिनका लागि आउने पर्यटकलाई यी तीन वटै स्थानको एकीकृत पर्यटन अवधारणा लागू गर्न सके कम्तीमा एक हप्ताको प्याकेज निर्माण र कार्यान्वयन गर्न सकिन्छ ।
यसका लागि सर्वप्रथम भौतिक पूर्वाधारको आवश्यकता पर्दछ । कन्यामबाट श्रीअन्तु, श्रीअन्तुबाट झण्डीडाँडा र झण्डीडाँडाबाट कन्याम जोड्ने त्रिकोणात्मक पक्की सडक सञ्जाल निर्माण गर्नुपर्दछ ।
तीन चुला आकारमा उभिएका श्रीअन्तु डाँडा, झण्डी डाँडा र कन्यामको आ-आफ्नै विशेषता बमोजिमका पूर्वाधार विकास गर्दै त्यसको दिगोपनाका लागि फरक स्थानको फरक स्वादको अनुभूति हुने गरी एकीकृत सञ्जाल तयार गरी प्याकेजमा घुम्ने वातावरण बनाउनु पर्दछ ।
कन्याम आएका पर्यटकलाई श्रीअन्तुडाँडा र झण्डीडाँडा समेतमा पुग्ने वातावरण सिर्जना गर्नुपर्छ । आखिर एक्ला एक्लै हिँडेको यात्रा भन्दा संयुक्त यात्रामा दिगोपना रहन्छ । कन्याम र अन्तुको बीचमा सिद्धीखोलामा र अन्तु र झन्डीको बीचमा सिद्धीखोलामै आकर्षक पुल बनाउन सकिन्छ ।
सडक, पुल पूर्वाधारहरु चाहिँ स्रोत पाएसम्म र सकेसम्म उन्नत, विकसित मुलुकहरुकै मापदण्ड र गुणस्तरमा र नभए कम्तिमा पनि सामान्य दुई लेन पक्की सडक र उपयुक्त साधारण पक्की पुलले चाहिँ जोड्नै पर्छ ।
किनकि, सडक आधारभूत पक्ष हो। विकासको लाइफलाइन हो। कन्याम झन्डीडाँडा जोड्ने सडकको फाजिगाउँ- तारगाउँ खण्डमा फास्ट ट्रयाक मोडेलको अग्लो पुल बनाउन सके पर्यटनको लागि आकर्षण हुन्छ ।














