रवीन घिमिरे । सर्लाही ,सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेलीमाई मन्दिर नजिक गएराति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सन्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका हुन् ।

28b035dd-f7fb-4bc2-8795-99a8c054834b

गएराति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्वरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्वरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ११ जनामध्ये नापी कार्यालयका प्रमुख काभे्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सन्जय मानन्धर, सर्लाहीको बागमती नगरपालिका–५, का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ३५ वर्षीय रामलाल साहको अवस्था गम्भीर छ ।

त्यस्तै दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका–२, का २४ वर्षीय सन्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका–२, का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलङ्गवा नगरपालिका–३, का ५० वर्षीय बैधनाथ पटेल, मलङ्गवा नगरपालिका–७, का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीदनगर नगरपालिका–७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका–२०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएका छन् ।


घाइते सबैको एलेक्स न्यूरो अस्पताल कैलया, बारामा उपचार जारी रहेको छ । प्रादेशिक अस्पताल मलङ्गवामा समान्य उपचारपश्चात सबै घाइतेलाई एलेक्स न्यूरो रेफर गरिएको हो । दुर्घटनापछि गाडीभित्रै च्यापिएका घाइतेलाई स्थानीय र प्रहरी भएर उद्धार गरेका थिए ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पंजियार थारुले अहिले बिहान उपचाररत् घाइतेको थप अवस्था बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताउनुभएको छ । दुर्घटनामा नापी कार्यालयका कर्मचारी सवार गाडी क्षतिग्रस्त छ ।

उखु बोकेको ट्याक्टरका चालक फरार छन् । कर्मचारी मिलन केन्द्र सर्लाहीको अध्यक्ष समेत रहेका प्रमुख नापी अधिकृत मानन्धरसहितको टोली माघ २७ गते आयोजना गरिएको वनभोज (पिकनिक) कार्यक्रमको तयारीमा जुटेको थियो ।

मानन्धरको नेतृत्वमा पछिल्लो समय नापी कार्यालय मलङ्गवाको कार्यालय व्यवस्थापनदेखि सेवामा व्यापक सुधार हुँदै गएको भन्दै प्रशङ्सा हुने गरेको छ ।