काठमाडौँ। नेपाल प्रहरीले पछिल्लो छ महिनामा मात्रै लागुऔषध कारोबारमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये दुई हजार सात सय ५८ पुरुष, एक सय ४४ महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार पक्राउ परेकामध्ये एक हजार नौ सय ६० मुद्दा दर्ता भएका छन् ।

अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज तयार गर्ने काठमाडौँ सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौँ दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक र कुकिजसहित पक्राउ परेका छन् । 

भारतीय नागरिक किम्रो साङ्गी अवैध लागुऔषध कोकिन एक किलो नौ सय ७३ ग्रामसहित पक्राउ परेका छन् ।

धादिङ कोइली खर्कका कान्छा तामाङ र भीमबहादुर तामाङ लागुऔषध चरेस २५ केजीसहित पक्राउ परेको प्रहरी तत्थ्याङ्कमा उल्लेख गरिएको छ । 

यसैगरी पक्राउ पर्नेमा मोहमद, शालोम, किम्रो, कान्छा र भीमबहादुर प्रतिनिधि पात्रमात्रै भएको प्रहरीको दाबी छ ।

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधिजस्ता लागुऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुबाट गाँजा आठ हजार तीन सय तीन सय २० केजी, चरेस तीन सय आठ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन तीन केजी बरामद गरिएको प्रहरीको दाबी छ । 

यसैगरी डाइजेपाम २३ हजार पाँच एम्पुल, फेनारगन २७ हजार एक सय ३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार छ सय ७४ एम्पुल, लुपिजेसिक एक हजार चार सय १५ एम्पुल, नाइट्राभेट ६३ हजार पाँच सय ४७ ट्याबलेट, स्पास्मो ११ हजार ७२, कोरेक्स छ हजार पाँच सय ७१, एभिल सात सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाइजिन चार हजार सात सय ६२, अन्य एम्पुल छ हजार चार सय ८२, अन्य ट्याबलेट एक हजार पाँच सय ५८ र आइस दुई ग्रामसमेत बरामद भएको छ । 

यस आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा मधेस प्रदेशबाट सबैभन्दा धेरै लागुऔषध गाँजा तीन हजार आठ सय ९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ ।

यसैगरी कोशी प्रदेशबाट पाँच केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागुऔषध नियन्त्रण ब्यूरोबाट एक केजी कोकिन बरामद भएको छ ।