काठमाण्डाै - २३ दिन पैदल हिँडेर मिटरब्याजपीडितहरू काठमाण्डाै आइपुगेका छन् ।

न्याय मार्चका लागि भन्दै उनीहरु हिजो बुधवार बेलुकी नागढुङ्गा हुँदै काठमाण्डौ आएका हुन् ।

उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए ।

त्यसपछि फागुन ३ गते चितवनको नारायणगढमा भेला भएर काठमाण्डौतर्फ लागेका हुन् ।

मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् ।

फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् ।

यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ आएका थिए ।

पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो ।

तर सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूका समस्या समाधान नभएको भन्दै उनीहरूले फेरि यात्रा थालेका हुन् ।

आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाण्डौसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताउनुभयो ।