बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाताकहाँ गएर आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरिरहेका छन् ।

विशेषगरि दुईवटा प्यानल खडा गरेर उम्मेदवारहरू निर्वाचनमा होमिएका छन् । दुईवटा प्यानलका उम्मेदवारहरूमा मतदाताहरूले कुन प्यानलका उम्मेदवारले उद्योग वाणिज्य संघलाई गतिशील बनाएर लैजान्छ, तौलिन थालेका छन् ।

IMG_4646-scaledएकातिर परम्परागत नेतृत्व आए बिर्तामोड उद्योग वाणिज्य संघको आगामी कार्यकालमा ‘केही हुँदैन’ भन्ने तर्क गर्न थालिएको छ भने अर्कातिर स्थानीय अर्थतन्त्र कसरी चलायमान बन्छ, स्थानीय उत्पादनको बजारीकरण र स्थानीय सरकारसंग समन्वयकारी भूमिका जस्ले निर्वाह गर्छ उनैलाई भोट दिने भन्ने विषय अहिले बिर्तामोड बजारभरका अधिकांश मतदाताले सोचिरहेका छन् ।

सोचनीय यो छ कि, परम्परागत खेमाका उम्मेदवारहरू कार्यसमितिमा निर्वाचित भए स्थानीय सरकारसंगको सम्बन्ध झन् विग्रेर जाने देखिन्छ । निजी क्षेत्र सरकारको सहयोगी हुन जरुरी हुन्छ र सरकारको गलत काम कारबाहीको खबरदारी निजी क्षेत्रले गर्नुपर्छ । तर निजी क्षेत्र सरकारमाथि जाइलाग्ने कुनै एजेन्सी हुनु हुँदैन भन्ने अहिले बलियो देखिएको छ । जुन बिर्तामोड नगरपालिकामा यस अघि पटक/पटक देखिएको छ ।

व्यवसायी अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेदवारहरू परम्परागत कार्यशैलीमा बिर्तामोड उद्योग वाणिज्य संघ चलाएका उम्मेदवारहरू भन्दा प्रगतिशील रहेका बिर्तामोडका औषधि व्यवसायी प्रदिप खरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जुनसुकै बेला पाखुरा सुर्केर हुँदैन । सरकार के हो त्यो बुझ्नुपर्छ । उद्योग वाणिज्य संघलाई गतिशील बनाउने हो भने स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेदवारलाई भोट दिएर जिताउनुपर्छ । अनि मात्र व्यवसायीले आश गर्न सक्छन् ।’

उद्योग वाणिज्य क्षेत्रको संस्थाको नेतृत्वले बजारको आर्थिक अवस्थालाई विश्लेषण गर्न सक्ने क्षमता राख्नुपर्ने अग्रज उद्योगी व्यवसायीहरूले बताएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा बिर्तामोडका अग्रज व्यवसायी वेदप्रकाश अग्रवालका अनुसार अहिलेको बजारको संकटलाई विश्लेषण गर्ने र स्थानीय स्तरमा सही नीति अवलम्बन गर्ने क्षमता अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीसंग छ ।

अग्रवाल भन्नुहुन्छ, ‘उहाँलाई हामीले त्यतिकै समर्थन गरेको होइन । अहिलेको अवस्थामा अध्यक्षका लागि उपयुक्त पात्र अर्जुनजी नै हो ।’

स्थानीय सरकारका जनप्रतिनिधिको कार्य समय उद्योग वाणिज्य संघको अब बन्ने समितिको पूर्णकाल सकिँदा पनि नसकिने भएकाले स्थानीय सरकारको समन्वयमा केही गर्नु छ भने अर्जुनकुमार मैनाली नेतृत्वलाई मत दिनुपर्ने अधिकांश व्यवसायीको मत रहेको छ । यथास्थितिबादी नेतृत्वलाई उद्योग वाणिज्य संघ सुम्पिँदा जुन निकायको समर्थन पाउनुपर्ने हो, त्यो झन् बिग्रेर जाने धेरै तर्क पाइन्छ ।