भद्रपुर नगरपालिकाले ६ जना पत्रकार र ४ जना खेलाडीलाई नगदसहित पुरस्कृत गरेको छ ।

भद्रपुरले नगर सभाको १३ औं अधिवेशनको अवसरमा बुधबार भद्रपुरका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी र अग्रज पत्रकार गोविन्दचन्द्र छेत्रीलाई ‘जीवनपर्यन्त योगदान पुरस्कार’, प्रदान गरेको हो । नगर क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका काजी र छेत्रीलाई ३० हजार नगदसहित सम्मान पत्रले पुरस्कृत गरेको छ ।

त्यस्तै, दीपक अधिकारी र लेखनाथ परदेशीलाई ‘नगर विकास पत्रकारिता पुरस्कार’ सम्मान पत्रसहित नगद १५ हजारले पुरस्कृत गरिएको हो । पत्रकार रेवतीराज घिमिरे र वरुण साप्ताहिककी सम्पादक इशा प्रधानलाई ‘प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । घिमिरे र प्रधानलाई १० हजार नगदसहित सम्मान पत्रले पुरस्कृत गरिएको हो ।