बिर्तामोड भरत प्रसाई । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले श्रमिक महिलाहरूको हक अधिकार सुनिश्चित हुन नसकेको बताउनुभएको छ ।
१ सय १४ वर्ष पहिला जमर्नीमा जन्मिएकी क्लारा जेटिनले श्रमिक महिलाहरुको हक अधिकार सुनिश्चत हुनुपर्छ भन्दै सुरुवात गरिएको दिवसले यति लामो समय बितिसक्दा पनि मुर्तरुप लिन नसक्नु दुःखद भएको उहाँले बताउनुभयो ।

बिर्तामोड ६ स्थित हर्चनामा रहेको सन्थाल बस्ती नगर गौरव भिलेजमा मेची महाकाली बुहारी संयुक्त आवाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नगरप्रमुख प्रसाईले नेपाली महिलाका सवालमा कानुनका ठेलीहरुमा धेरै अधिकार बने पनि कार्यन्वयन पक्ष फितलो रहेको बताउनु भयो ।
महिला हिंसामा विरुद्व आवाज उठाउँदै आएको मेची महाकाली बुहारी संयुक्त आवाजले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला मैत्री कानुन कार्यान्वयन सम्बन्धि प्रतिक्षण सहितको सचेता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमकाबीच सन्थाल बस्तीमा बसोबास गर्ने रामदेव चौधरी, सन्तरीमाया राय र महिला टेम्पो चालक प्रमिला मण्डललाई सम्मान गरिएको थियो ।
मेची महाकाली बुहारी संयुक्त आवाजका कानुनी सल्लाहकार स्वागत नेपालले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । संस्था सधै आवाज बिहीनहरुको आवाज बन्ने मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्र काफ्लेले बताउनु भयो ।
नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता हुँदा पनि निम्न वर्गको जीवनस्तर माथी उठाउन प्रभावकारी योजनाहरु बन्न नसकेको बताउनु भयो ।
झापा जिल्ला सह संयोजक गंगा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन झापा जिल्ला सह–सचिव आरजु शर्माले गर्नुभएको थियो ।














