१ वैशाख, झापा । तराईमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व शुक्रबारदेखि सुरु भएको छ । वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्छ ।
पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर काद सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन छ ।
यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ ।
झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् ।
पर्वको अवसरमा यी जिल्लाहरुमा विशेष सांस्कृतिक कार्यक्रमहरुसहित सिरुवा मेला पनि लाग्ने गर्दछ ।
भारतको आसाम, मेघालय, पश्चिम बंगाल र कोचबिहारमा पनि सिरुवा मनाइन्छ ।