गएको बिहीबार दिउँसो आगलागीबाट घरबारविहीन बनेका सर्लाहीको सीमावर्ती गाउँ विष्णु गाउँपालिका–१, बाराउद्योरणका आगलागी पीडितलाई आइतबार राहत सहयोग गरिएको छ ।

बागमती सेवा समाज नेपाल हरिवन र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) मलंगवाले वल्र्ड भिजनको सहयोगमा बाराउद्योरणस्थित पूर्वारी टोलका ६५ परिवारलाई विभिन्न राहत सामग्री प्रदान गरेका हुन् ।

एक परिवारलाई ४ हजार ५० रुपैयाँ बराबरको राहत सामग्री दिइएको छ ।

प्रत्येक परिवारलाई २५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २ केजी चिनी, २ केजी नुन र एक थान किचेन सामग्री प्रदान गरिएको बागमती सेवा समाज नेपालका भरतकुमार कार्कीले जानकारी दिनुभयो ।

कार्कीसहित वल्र्ड भिजन इन्टरनेशनलका विनय अमात्य, आरआरपिकेका सन्जिव चौधरीलगायत भएर राहत वितरण गर्नुभएको छ ।

गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवको उपस्थितिमा अग्नी पीडितलाई राहत वितरण गरिएको हो ।