बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितले रिले अनशन सुरु गरेका छन् ।

शुक्रबार बिहान काठमाडौंस्थित माइतीघर मण्डलबाट तेस्रो चरणको आन्दोलन सुरु गरेको पीडितले बताए ।

काठमाडौं उपत्यकासहित चितवनबाट पनि सहकारी पीडितले आन्दोलन थालेको जनाएका छन् ।पीडितको बचत रकम फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका सम्झौता कार्यान्वयन नगरेका कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए । ‘

बचतकर्ताको रकम फिर्ता गर, बचत फिर्ता नभएसम्म २०८४ को निर्वाचन हुन दिँदैनौं, सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गर’ लगायत नारासहित उनीहरू रिले अनशनसहित धर्नामा उत्रिएका हुन् ।

आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रिले अनशन बस्ने पनि आयोजकको दाबी छ । माइतीघर मण्डलबाट सुरु भएको पीडितहरूको आन्दोलन र्‍यालीपछि कोणसभा गरी रिले अनशनमा परिणत भएको थियो ।

सहकारी पीडितको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्ने महासंघका अध्यक्ष केसीले बताए ।