काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत १७ किलोमा गएराति भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका ट्रकका सहचालकको उपचारका क्रममा ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले उज्यालोलाई दिनुभएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत सिन्धुपाल्चोक बाह्रबिसे घर भएका राजन सुवेदीको ज्यान गएको हो ।  यसअघि अर्का १७ वर्षीय किशोरको पनि उपचारकै क्रममा ज्यान गएको थियो । उनको नाम ठेगाना खुलिसकेको छैन । घाइते २१ जनाको उपचार भैरहेको छ ।

गएराति काठमाण्डौबाट प्यूठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ गैरहेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासको लागि छुटेको ना ७ ख ३२४८ नम्बरको बस र बीरगञ्जबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

प्रहरीका अनुसार काठमाण्डौबाट प्यूठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बसले काठमाण्डौबाट बर्दिवासको लागि छुटेको ना ७ ख ३२४८ नम्बरको बसलाई उछिन्दा विपरीत दिशाबाट आइरहेको ना ३ ख ७९१५ नम्बरको ट्रकसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यसक्रममा ट्रकको पछाडि रहेको ना ६ ख ८९६८ नम्बरको अर्को बस पनि ट्रकको पछिल्लो भागमा ठोक्किएको देखिन्छ। बा ४ ख ९०८६ नम्बरको बसले उछिन्ने क्रममा ना ७ ख ३२४८ नम्बरको बस पनि सडकको कुनामा ठोक्किएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भैरहेको डीएसपी रिजालले जानकारी दिनुभयो ।