त्रिशुली नदीमा बेपत्ता भएका एक बालकको शव फेला परेको छ। 

शनिबार अपराह्न ४ बजे धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी बस्ने १५ वर्षीय युनिक सुवेदी र १३ वर्षीय रिदम रोइला बेपत्ता भएका थिए।

उनीहरूमध्ये आइतबार दिउँसो सवा १ बजे सुवेदीको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए। 

उनकाअनुसार नदी किनारमा उनीहरूको कपडा भेटिएको थियो। त्यो कपडा फेला परेको करिब १०/१५ मिटरनजिक करिब २० फिट गहिराइमा शव फेला परेको हो।

 जनहितमा जारी

दुई बालक बेपत्ता भएको भन्दै गएराति साढे ११ बजे सशस्त्र प्रहरीलाई खबर भएको थियो।

त्यसपछि सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी मदनकुमार रसाइलीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।तर फेला पार्न नसकेपछि मध्यराति टोली फर्किएको थियो। आइतबार बिहान पुन: टोलीले खोजी गरेको थियो। 

बिहान ११ बजेसम्म पनि फेला नपरेपछि कुरिनटारस्थित शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक धनकुमार अधिकारीको कमाण्‍डमा पाँच जना गोताखोर र दुई जना अन्य गरी सात जनाको टोली खटिएको थियो। 

सो टोलीले सवा १ बजे एक जना बालकको शव फेला पारी निकालेको हो। अर्को बालकको खोजी जारी छ।