बिर्तामोड । होटल व्यवसायी देवीभक्त श्रेष्ठले अदालतले काँकरभिट्टास्थित होटल हिकोला हेरिटेज सञ्चालन गर्न आदेश दिएपनि घरधनीले उक्त आदेशको अवज्ञा गरेकाले घरधनीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै आफूलाई निर्वाध होटल सञ्चालन गर्न पहल गरिदिन माग गरेका छन् । 

उच्च अदालत विराटनगरको इलाम इजलासले  घरधनी विष्णुमाया श्रेष्ठ दाहाल र होटल सञ्चालक देवीभक्त श्रेष्ठबीचको विवादमा उच्च अदालत विराटनगरको इलाम इजलासले गत फागुन ६ गतेको अल्पकालिन  आदेशलाई निरन्तरता दिँदै  घरधनी विष्णुमाया श्रेष्ठ दाहालको नाममा आदेश जारी गर्दै मुद्धाको अन्तिम निर्णय नआउञ्जेलसम्मका लागि होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई होटल चलाउन दिनु भनेर आदेश दिएपनि घरधनीले यत्रो समयसम्म अवज्ञा गरेकाले अब आफूहरु चुप लागेर नबस्ने श्रेष्ठले बताए । 

घरधनी श्रेष्ठले अदालतको आदेशको अवज्ञा गरेर कानूनको धज्जी उडाएकाले उनलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताउँदै होटल व्यवसायी श्रेष्ठले अदालतको आदेश पालना गर्न घरधनी श्रेष्ठलाई मनाउन सरोकारवाला निकायले समेत प्रयत्न गरेपनि सफल नभएकाले अब आफूहरु बलप्रयोग गर्न वाध्यहुने चेतावनी दिए । 

उनले भने – ‘ होटलबाट हामीलाई कानूनविपरित हुलहुज्जत गरी डकैती शैलीमा निकालिएको छ महिना भयो, अहिलेसम्म हामीले कानूनीरुपमा धेरै पहल गर्यौं  तर अब हाम्रो धैर्यताको वाँध टुटेको छ , अब हामी बल प्रयोग गर्न वाध्य हुन्छौं ।’ 

होटल सञ्चालनका लागि  घरधनी र आफूविच घर भाडा दिने लिने सम्बन्धमा कुनै विवाद नभएको उच्च अदालत विराटनगरको इलाम इजलासले दिएको  आदेशमा उल्लेख छ ।  दुई पक्षबीच २०७६÷३÷११ गते भएको करार अनुसार होटल सञ्चालनको लागि घर भाडामा लिने दिने बिषयमा सम्झौता भएको र कुनै विवाद भएको नदेखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म अदालतबाट मिति २०८०÷११÷६ गते जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अर्को फैसला नहुन्जेलसम्मका लागि निवेदक होटल सञ्चालक देबिभक्त श्रेष्ठलाई होटल व्यवशाय गर्न दिनु भनि घरधनी बिष्णुमाया श्रेष्ठ दाहालका नाममा अन्तरिम आदेश जारी गरेको भएपनि घरधनी श्रेष्ठले अनेक बखेडा झिकेर विवाद वढाएको उनले बताए ।  

आफूले होटल सञ्चालन गर्नका लागि मेचीनगर–६ काँकरभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठ दाहालको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिएको र सम्झौता बमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी श्रेष्ठले गत माघ २५ गते होटलका सञ्चालक गौरव श्रेष्ठमाथी हुलहुज्जतका साथ  आक्रमण गरी उक्त होटल नियन्त्रणमा लिइरहेको बताए । 

उच्च अदालत विराटनगर इलाम इजलासले होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिने  आदेश दिएपनि घरधनी बिष्णुमाया श्रेष्ठ दाहालले अदालतको आदेशको अवज्ञा गरेर होटल सञ्चालन गर्न नदिएको बताउँदै मेचीनगर नगरपालिकाको न्यायिक समिति र मेची उद्योग वाणिज्य संघको पहलबाट  विवाद समाधान हुन नसकेकाले न्याय माग्दै आफू  उच्च अदालत गएको बताए । 

बिगतमा विभिन्न समूहबाट हुलहुज्जत र आक्रमण समेत भएको हुँदा शान्ति सुरक्षाको वातावरण नबनेसम्म होटलमा जान सक्ने स्थिति नभएको बताउँदै श्रेष्ठले होटलमा देखिएको  विवाद साम्य पार्न मेचीनगर नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई, डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, माधव अर्याल, न्यायिक समितिका सदस्य कुन्दन निरौलासहितको  मध्यस्थता समिति गठन गरेपनि  त्यस समितिले निष्पक्ष रुपमा काम गर्न नसकेको उनले बताए ।  

उनले अदालतको आदेश कार्यान्वयन गराउने सन्दर्भमा गृहमन्त्रालयले चासो राखेर विभिन्न मितिमा लिखित र मौखिक  निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले चासो राख्दै काँकडभिटटाका डिएसपी ,जिल्ला प्रहरी प्रमुख मिलन केसी , घरधनी श्रेष्ठ , होटल संघका वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी र पीडित होटल व्यवसायी श्रेष्ठ , लेखा विज्ञ  र कानून विज्ञलाई राखेर छलफल गरी हरहिसाव हेरेर परिवार स्थानात्तरण गरी साविकको अवस्थामा पीडित होटल व्यवसायी श्रेष्ठलाई होटल चलाउन घरधनी श्रेष्ठलाई  निर्देशन दिएका थिए । 

घरधनी बिष्णुमाया श्रेष्ठ दाहालले होटल हिकोला हेरिटेजको नाम समेत परिवर्तन गरेर न्यु होटल हिकोला हेरिटेज लेखेर होटल हडप्ने प्रयास गरेकोमा  दु्ःख व्यक्त गर्दै उनले करार अवधिसम्म उक्त होटलमा आफ्नो हक लाग्ने भएकाले उक्त वोर्ड तत्काल हटाउन  घरधनी श्रेष्ठलाई आग्रह गरे । 

यता होटल व्यवसायी संघ झापाको पहलमा घरधनी र होटल संचालकबीच अदालतको आदेश कार्यान्वयनका लागि भएको छलफल पनि निस्कर्षविहीन भएको छ । 

होटल व्यवसायी संघ मेचीनगरको सभाकक्षमा घरधनी विष्णुमाया श्रेष्ठ दाहाल र होटल संचालक देवीभक्त श्रेष्ठबीच विगतदेखिको विवादलाई नलम्ब्याई अदालतको आदेशलाई कार्यान्वयन गर्दै निकास खोज्ने विषयमा विहीबारबाट छलफल भएको र आइतबार घरभाडाका विषयमा कुरा मिलेपनि घरधनी श्रेष्ठ दाहालले    जिल्ला प्रशासन कार्यालय ,अदालत  र वाणिज्य संघ , होटल व्यवसायी संघलगायतले गरेको निर्णय नमान्ने बताउँदै  बैठक छोडेर हिँडेपछि  छलफल निष्कर्षमा पुग्न नसकेको  होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले बताए । 

छलफलमा होटल व्यवसायी संघ झापाका  महासचिव शिवराज पौडेल , शनिश्चरे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ध्रुव प्रधान , समाजसेवी लीला मैनाली ,मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी, सदस्य हस्त तामाङ, अर्का घरधनी पशुपति दाहाल , होटल संचालक गौरव श्रेष्ठ , उर्मिला विमली श्रेष्ठ, युवा उद्यमी तथा समाजसेवी राजेश विमली, कुमार श्रेष्ठलगायत सहभागी थिए । 

आफूले सबै न्यायिक निकायबाट कानूनी न्याय पाएर अघि वढेको अवस्थामा  घरधनी श्रेष्ठले अनेक वदमासी गरेकाले उनलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै केही दिनमा जिल्ला प्रशासन कार्यालय जाने उनले बताए । 

आज आइतबार भएको छलफलमा घरधनी श्रेष्ठ दाहालले   जिल्ला प्रशासन कार्यालय ,अदालत  र वाणिज्य संघ , होटल व्यवसायी संघलगायतले गरेको निर्णय नमान्ने बताउँदै  बैठक छोडेर हिँडेकोमा दुख व्यक्त गर्दै उनले गरेको वदमासीबारे जिल्लाका प्रहरी प्रमुख मिलन केसी र डिएसपीलाई तत्काल जानकारी गराएको होटल व्यवसायी श्रेष्ठले बताए । 

 आइतबारको बैठकमा विषयको गाम्र्भीर्यतालाई मध्यनजर गर्दै सुरक्षाका लागी प्रहरी सहायक निरिक्षकको नेतृत्वमा  इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी पठाएकोमा होटल व्यवसायी श्रेष्ठले आभार व्यक्त गरेका  छन् ।