अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गराउने अङ्ग्रेजी शिक्षकहरूको दुई दिने सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले नगरस्तरीय अङ्ग्रेजी विषयगत समिति समेत गठन गरेको छ।
समितिमा संगीता खरेल डाँगी, रामचन्द्र आचार्य, ओम आचार्य, मिनीता काफ्ले, भद्र घिमिरे, प्रीतिका परियार र धरणीप्रसाद सुवेदी रहेका छन्। नगरपालिका क्षेत्रमा अङ्ग्रेजी विषय शिक्षणमा आइपर्ने समस्याहरू अंग्रेजी शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने साथै नगरपालिकाको सहकार्यमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षणहरू सञ्चालन गर्ने उद्देश्यका साथ नगरस्तरीय अंग्रेजी विषय शिक्षक सञ्जाल गठन गरिएको नगर शिक्षा अधिकृत सुनिता भट्टराईले जानकारी दिइन् ।
नगरमा पहिलोपटक अङ्ग्रेजी शिक्षकहरूको सम्मेलन गरी अङ्ग्रेजी भाषा शिक्षणमा देखा परेका समसामयिक समस्याहरू र त्यसलाई समाधान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव तोयानाथ रेग्मीले बताए।














