भरत भाबुक प्रसाई । बिर्तामोड साहित्य चौतारी झापाले आगामी असार ३१ गते भव्य रुपमा रजत महोत्सव मनाउने भएको छ ।
बिर्तामोड स्थित साहित्य चौतारीको सभा हलमा आयोजित पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिइएको हो ।
साहित्य चौतारी झापाका संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्य चौतारीका सल्लाहकार राजेन्द्र संग्रौलाले स्मारिका प्रकाशन सम्बन्धमा प्रकाश पार्दै १ सय भन्दा बढी रचना स्मारिकामा समावेश गरीएको बताउनु भयो ।
आगामी असार ३१ गते राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता, वरिष्ठ सर्जक अभिनन्दन, रथयात्रा गरी रजत महोत्सव मनाइने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हार्ताम्छालीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा साहित्य चौतारी झापाबाट अभिनन्दित हुनुभएका भाषाविद् चूडामणि रेग्मी, वरिष्ठ लोक गायक एलपी जोशी, प्रथम संगितकार शान्ति ठटाल,वरिष्ठ पत्रकार नकुल काजीलाई रथ आरोहण गराइने भएकाे छ ।

त्यस्तै रजत महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगा प्रसाद उप्रेती, संस्कृत विद् डा. जगमान गुरुङ, सर्जक गणेश रसिक,प्राडा. गंगा प्रसाद अधिकारी,मनु मञ्जिल, गायक शम्भु राई,मूर्तिकार विक्रम श्री तिम्सिना , प्राडा टङ्क न्यौपाने, कुन्ता शर्मा, अनुराधा थापालाई सम्मान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
संस्थाका उपाध्यक्ष हिम्मत नेम्वाङको अध्यक्षतामा रजत जयन्ती व्यवस्थापन समितिको निर्माण गरिएको छ ।
कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै सचिव गौरव श्रेष्ठले रजत जयन्तीको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो ।
साेही दिन २११ औ भानु जयन्तीको अवसरमा राष्ट्रियव्यापी कविता प्रतियोगिता हुने आयोजित पत्रकार सम्मेलनमा संस्थाका महासचिव भानुभक्त कुभिण्डेलीले जानकारी दिनु भयो ।
नेपाल भरीका १ सय ५६ वटा कविता मध्येबाट उत्कृष्ट १० कविता प्रतियोगितामा समावेश गरिएकाे उहाँले बताउनु भयो ।
प्रथमलाई २० हजार द्वितियलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कारको रहेको महासचिव कुभिण्डेलीले बताउनु भयो ।
भारतीय नेपाली भाषी स्रष्ठा तथा गायक जिवन अधिकारीले साहित्य चौतारी संग स्थापनाकालिन समय देखि आफु जोडिएको बताउदै कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गर्नु भयो ।














