झापा । जंगली हात्तीको समस्या भोग्दै आएको झापामा पछिल्लो पाँच वर्षयता रैथाने हात्तीको संख्या झन्डै तेब्बर वृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार २०७५ सालमा १०/१२ वटा संख्यामा रहेको रैथाने हात्तीको संख्या हाल ३० वटाभन्दा धेरै छ ।
भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि रैथाने हात्तीको संख्या बढ्दै गएको उनको भनाइ छ ।
गत वर्ष सूक्ष्म रुपमा अध्ययन गर्दा रैथाने हात्तीको संख्या वृद्धि भएको पाइएको थियो । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेको हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।
झापाका वनमा रहेका रैथाने हात्तीमध्ये १० वटाको नामाकरण समेत गरिएको छ ।
सुनौलो दाँते जग, घुमन्ते युवगज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रंगे गज नामाकरण गरिएको छ ।