काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको चुनाव गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटेर रिक्त पदमा उपचुनावको तयारीबारे छलफल गरेका छन् ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आउँदो मङ्सिर तेस्रो हप्ता चुनाव गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी चुनावको मिति तय गर्न र मितव्ययीता अपनाउन आग्रह गर्नुभएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । चुनावको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।