ललितपुर – ललिपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ३ को बोझे पोखरीबाट इमाडोलतर्फ जाने भित्री सडक भासिएको छ । गएराति सडक भासिएपछि त्यहाँ गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
सडकमा झन्डै तीन मिटरका दुई वटा खाडल बनेका छन् । खाडलका कारण त्यो बाटो हुँदै गाडी सञ्चालन गर्न नमिल्ने अवस्था छ । वर्षाका कारण सडक भासिएको प्रहरीले जनाएको छ ।
यही साउन २५ गते काठमाण्डाै महानगरपालिका कार्यालय नजिकको सडक पनि भासिएको थियो । सडक भासिएपछि अहिले दरबारमार्गमा रहेको महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्डमा यातायात सञ्चालन बन्द गरिएको छ । त्यस क्षेत्रमा टुकुचा खोला छोपेर सडक बनाइएको कारण भासिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।