काठमाण्डौ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

एमालेका आचार्य नेपाली कांग्रेसको समर्थनमा गएको साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद रहेकाले आचार्यले विश्वासको मत पाउने निश्चितजस्तै छ ।

८७ जना सांसद रहेका लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ जनाकाे समर्थन चाहिन्छ ।

गएको शनिवार आचार्य एमाले प्रदेश संसदीय दलको नेतामा चयन हुनुभएको थियो । उहाँले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ ।