मङ्कीपक्स एक प्रकारको ‘पक्स’ भाइरसले सङ्क्रमण गरेर हुने रोग हो । यसलाई ‘एम पक्स’का रूपमा पनि चिन्ने गरिन्छ । यो सङ्क्रमण पहिला शुरुमा अनुसन्धानमा राखिएको बाँदरमा देखिएको हुनाले सङ्क्रमणको नाम मङ्कीपक्स राखिएको हो । पछि मानिसमा सरेको हो । अहिले यसलाई ‘एम पक्स’का नामले चिनिन्छ ।

मङ्कीपक्स विशेष गरेर एक व्यक्तिबाट अर्को व्यक्तिमा सरल रूपमा सरेको देखिन्छ । अझ कोभिडभन्दा सजिलै तरिकाले सरेको पाइन्छ । मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्क, यौन सम्पर्क, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्‍यालको सम्पर्क, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । 


मङ्कीपक्स सङ्क्रमण लागेको कसरी थाहा पाउने 

कुनै मानिस मङ्कीपक्स फैलिएको ठाउँमा गएर आएको रहेछ र २१ दिन भित्र लक्षण देखियो भने शङ्का गर्न सकिन्छ । समान्य रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, वाकवाक लाग्ने, ग्रन्थीहरु सुन्निने जस्ता खालका समस्या देखिन्छ । तर यी खालका बिरामी हुँदा मानिस खासै अस्पताल गएको देखिँदैन ।

शरीरमा देखिने बिमिरा अथवा ठेउला जस्तो दखिन्छ । मङ्कीपक्सको लागेको बिमिरा पनि ठ्याक्कै ठेउलासँग मिल्दोजुल्दो छ । मङ्कीपक्समा पनि ठेउलामा जस्तै दाग जस्तो देखिने, फुलिने, पानी भरिएर फुट्ने, सुख्खा भएर खस्ने गरेको देखिएको छ । शरीरका अनुहार, हातमा फोका देखिएपछि बल्ल डाक्टरकोमा पुगेका हुन्छन् । यी लक्षण सामान्यतया दुईदेखि चार हप्तासम्म आफैँ निको भएर जान्छ । यदि भएन भनि बल्ल जटिलताका कुरा आउँछन् ।

यो रोग बढ्दै गएमा निमोनिया, शरीरका विभिन्न अङ्गमा प्रभावित गरेर ज्यान लिन पनि सक्छ । मङ्कीपक्सलाई दुई वटा प्रजाति ‘क्लेड १’ र ‘क्लेड २’ मा विभाजित गरिएको छ । ‘क्लेड २’ दोश्रोभन्दा ‘क्लेड १’ प्रजातिको सङ्क्रमण घातक सङ्क्रमण मानिन्छ । अहिले फैलिरहेको सङ्क्रमणलाई ‘क्लेड १ बी’ नाम दिइएको छ । 

नेपालमा जोखिम कति ?

पहिले पश्चिम अफ्रिकामा मात्रै देखिएको थियो । सन् २०२२ मा युरोपमा अनौठो तरिकाले फैलिएपछि विश्वको ध्यान मङ्कीपक्सले तान्यो । त्यो बेला नेपालमा पनि एकजना विदेशी महिलामा देखिएको थियो । जुन दोश्रो प्रजातिको सङ्क्रमण थियो । केही दिनयता अफ्रिकी देश कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । जनवरी यतामात्र यो भाइरसका कारण पाँच सय ४८ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको छ । 

सरकारको तयारी कस्तो छ ? 

सरकारले सङ्क्रमण फैलिन नदिन त्रिभुवन विमानस्थल र १६ वटा अन्तर्राट्रिय नाकामा रहेका ‘हेल्थ डेस्क’मा कार्यरत स्वास्थ्यकर्मीलाई सचेत र अभिमुखीकरण गराएको छ । सङ्क्रमण फैलिएको ठाउँबाट आएकालाई क्वरेन्टाइनमा र शङ्कास्पद लक्षण जस्तै ज्वरो, बिमिरा आएका मानिसलाई नजिकको स्वास्थ्य संस्थामा लगेर उपचारका लागि समन्वय गर्न भनिएको छ ।

शङ्कस्पद लक्षण भएका मानिसको परीक्षणका लागि सरकारले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित देशभरका १४ वटा अस्पताललाई तोकेको छ । सरकारले तोकेको अस्पतालमा मङ्कीपक्सका सङ्क्रमितलाई उपचारमा चाहिने सामग्रीको भण्डारण गरिसकेको छ ।

सरकारको आग्रहअनुसार विश्व स्वास्थ्य सङ्गठनले पनि थप सामाग्री केही दिनमै नेपाल पठाउँदैछ । मङ्कीपक्सको पूर्वतयारीबारे स्वास्थ्य मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको छ । त्यसैले सरकराले सङ्क्रमण आउन नदिन पूर्व तयारी, प्रतिकार्य, जनशक्ति र व्यवस्थापन तयारी अवस्थामा राखेको छ । मङ्कीपक्सको सङ्क्रमण सरकारले मात्र चाहेर रोकथाम हुँदैन । यसमा नागरिकले पनि साथ दिनुपर्छ ।