झापा । झापाका ६ पालिकामा आज श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी गरिएको हो ।
जिल्लाको सदरमुकाम भद्रपुरमा २२औं पटक निकालिने श्रीकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी दिए । श्रीकृष्ण भगवान् सवार रथको विशेष पूजा अर्चना पश्चात् भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट आज दिउँसो २ बजे रथयात्रा निकालिने अध्यक्ष भारतीले बताए ।
जिल्लामै भद्रपुरको रथयात्रा पहिलो हो । अहिले बिस्तारै सबै पालिकाहरूले निकाल्न थालेको उनको भनाई छ । यस वर्ष रथयात्राका लागि भारत विहारको फारभिजगञ्जका बोलाएको १४ जनाको टोलीले श्रीकृष्ण ताण्डव नृत्य समेत प्रस्तुत गर्ने समितिका सचिव सञ्जय घोषले जानकारी दिए ।
विभिन्न झाँकीसहित निकालिने रथयात्रा गौशाला, झापाचोक, संगमचोक, सगरमाथा चोक, लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड, क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा आएर समापन हुने समितिका सहसचिव राजेश पकुवालले बताए । यस वर्ष रथयात्राको दुरी घटाइएको छ । विगतका वर्षहरूमा भद्रपुर–३ स्थित ज्ञानेचोकसम्म रथ लगिन्थ्यो ।














