बिर्तामोड । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनस्र्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका छन् ।
कुटपिटबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
स्थानीय आकाश खड्काले सञ्चालन गरेको पुनस्र्थापना केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् । घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो ।
पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ ।
सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गाली गलौज गर्दै एक्कासी कुटपिट गरेको पीडितले बताएका छन् ।
खड्कासहित पुनस्र्थापना केन्द्रका ८,९ जना कामदार खनिएर कुटपिट गरेको उनले बताइन् । आफन्त तीनजनालाई कुटपिट गरेपछि उपचारमा आएका मदन तामाङलाई भने खड्काले घर पठाएको छ ।














