काठमाण्डौ । कोशी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको हो ।
गएको वैशाख ३१ गते शुरु भएर झण्डै चार महिना चलेको अधिवेशनमा २० पटक बैठक बसेको थियो । यस अधिवेशनमा आर्थिक विधेयकबाहेक अरु तीन विधेयक पारित भए ।
केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेकय, २०७९ (२०८१) तथा प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित भएका छन् ।
यही सभामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको २२ महिनासम्म विषयगत समितिका सभापति छनोट हुन नसकेकामा यही अधिवेशनमा सातवटै समितिमा सर्वसम्मतले सभापतिहरु चयन भएका छन् ।
कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब रुपैयाँको वार्षिक बजेट पारित भएको छ ।