बिर्तामोड ।  कमल गाउँपालिका -३ केरखामा दुर्घटनामा परेका नातिनी र हजुरबुबाको शव १२ घण्टापछि उठाईएको छ । 

हिजो साँझ भएको दुर्घटनामा मृत्यु भएका सोही स्थानका १२ बर्षकी नातिनी कृपा  लिम्बू र उनका हजुरबुबा ६१ बर्षका टेकबहादुर लिम्बूको मृत्यु भएको थियोे ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार झापाबाट काठमाडौं जाँदै गरेको प्र न १–०१–००१ ख ४३३१ नम्बरको यात्रुबाहक बसले साइकलमा घर फर्किदै गरेका उनिहरुलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।  उनीहरुको मृत्यु भएपछि पीडित परिवारले त्यस स्थानमा यातायात अवरुद्ध पार्नुका साथै शवलाई सोही स्थानमा राखेर प्रदर्शन गरेका थिए । 

स्थानीयले ढुङ्गामुडा गर्दा घटनास्थल नजिकै रहेको मे १ ख २७४४ नं को र अन्य दुइवटा यात्रुबाहक बस तोडफोड गरेका थिए ।

स्थितिलाई  नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको थियो । घटनामा ९ जना प्रहरी घाइते भएका थिए ।

घटनालाई साम्य बनाउन स्थानीय तहका जनप्रतिनिधिको सक्रियतामा बैठक बसेपनि निष्कर्षमा  पुगेको थिएन ।

बिहान ५ बजसम्म चलेको वार्तामा भने पीडित परिवार शव उठाउन तयार रहेका हुन्  । शव पोष्टमार्टमको लागि दमक लगिएको छ । 

पीडित परिवारलाई अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने, घटनाको निष्पक्ष छानविन गर्ने लगायतका सहमति भएको प्रहरीले जनाएको छ । सहमतिपछि यातायात सञ्चालनमा आएको छ ।