फिक्कल । गोलिया काठ बोकेको ट्रक इलाममा दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।


आज बिहान अन्दाजी २ बजे इलाम सूर्योदय– १० जोगमाई खोलास्थित फिक्कल–नाम्सालिङ सडकखण्डमा नाम्सालिङबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ख १९६६ नम्बरको काठको गोलिया लोड भएको ट्रक पल्टिएको हो ।


ट्रक अचानक अनियन्त्रित भई भिरबाट अन्दाजी ८ सय मिटर तल झरेको थियो ।  दुर्घटना हुँदा ट्रक चालक इलाम सूर्योदय– ९ रम्पोक बस्ने अन्दाजी ३० वर्षीय अमर पौडेल र सहचालक माईजोगमाई – ३ बस्ने अन्दाजी १९ वर्षीय सुबास थामी गंभीर घाइते भएका छन् ।


दुबै घाइतेहरुलाई उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुबै जनाको अवस्था अचेत रहेको र ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।