बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती तथा संस्थापक सल्लाहकार तथा संस्थाद्वारा रथारोरहणसहित नागरिक अभिनन्दन गरिएका लोकगीत सम्राट एलपी जोशीको ८९ औं जन्मजयन्ती मनाएको छ ।
संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थापक सहसंरक्षक जितु गौतमको प्रमुख आतिथ्य र संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठको बिशेष आतिथ्यमा आयोजित कार्यक्रममा महाकवि देवकोटाको तस्विरमा माल्यार्पण गरेर उनीप्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।
संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमका सहभागीले महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वको चर्चा गरेका थिए।
कार्यक्रममा गायक तथा संगीतकार प्रदीप देवान र अध्यक्ष श्रेष्ठलगायतले महाकवि देवकोटाको कुन मन्दिर मा जान्छौ यात्री र लोकगीत सम्राट जोशीको रिटीङ रिटीङ नबजाउ बिनायो जस्ता कालजयी गीतहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी गौतमले साहित्य चौतारीले गरेको कार्यको प्रशंसा गरेका थिए। कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी कात्तिक १७ गते शनिवार गोबर्धन पूजाको दिन आयोजना गरिने दक्षिणारहित सामुहिक सडक देउसीमा सहभागी हुन सबैलाई आग्रह गरे ।
उक्त दिन संस्थापक सल्लाहकार अभिनन्दित व्यक्तित्व कृष्ण धरावासी दम्पतीको प्रमुख आतिथ्य र सल्लाहकार हरिनारायण भट्टराईको बिशेष आतिथ्यमा हुने कार्यक्रममा संस्थापक संरक्षक जितु गौतमलाई अभिनन्दन, गायक तथा संगीतकार प्रदीप देवानलाई सम्मान गर्नुका साथै संस्थापक सल्लाहकार अन्तर्राष्ट्रिय पाहुना जीवन अधिकारीको देउसी गीतको बिमोचन र देउसी गीतको छायाङ्कन गरिने बताए। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा र संस्थापक सल्लाहकार तथा संस्थाद्वारा रथारोरहणसहित नागरिक अभिनन्दन गरिएका लोकगीत सम्राट एलपी जोशीको जन्मजयन्ती भब्य रूपमा मनाउने बताए ।
कार्यक्रममा सल्लाहकार संयोजक राजेन्द्र संग्रौला,सदस्य विनोद खनाल, उपाध्यक्ष शान्ता पौड्याल, कोषाध्यक्ष भवानी गौतम ,सहकोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्य चित्रा पौडेल, कल्पना भट्टराई, पत्रकार देब बांस्कोटा, तबलिष्ट सतिष निरौलालगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए ।