सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह सिर्जना गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको सङ्केत गरेको जनाएको हो ।


मन्त्रालयले आज निकालेको विज्ञप्तीमा नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट स्तरोन्नति भई नवीनतम् एवम् वैकल्पिक वित्तका स्रोत परिचालन गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने उल्लेख गरेको छ ।


मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको भन्दै  नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताउनुभयो । सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुशीको नतिजा भएको भन्दै उहाँले नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वानसमेत गर्नुभएको छ ।


नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको सङ्केत गरेको छ ।


सार्वभौम क्रेडिट रेटिङमा मुख्यगरी अर्थतन्त्रका चार क्षेत्रहरु अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक वित्त र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ ।

नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ ।