यही मंसिर १६ गते हुने पालिकाको उपचुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । दुर्गम क्षेत्रमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतपत्र छाप्ने काम हिजो सकिएको छ । उपचुनावका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको आयोगले जनाएको । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् । पालिकाका रिक्त ४४ पदमध्ये
तीन जना निर्विरोध भइसकेकाले अब ४१ ठाउँमा मतदान हुनेछ ।
निर्वाचन आयोगकाअनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । चुनाव चिन्हसमेत पाइसकेपछि दल र उम्मेदवार चुनावी प्रचारप्रसारमा व्यस्त छन् । चुनाव हुने सबै ठाउँमा उत्साह भएपनि सबैभन्दा बढी चर्चा र चासो काठमाण्डौको कीर्तिपुर नगरपालिकामा छ ।
कीर्तिपुरका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । त्यहाँ मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यक्रम अनुसार यहि १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्ने छन् ।
आयोगले गएको मंसिर २ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ । प्रचारप्रसार गर्नेक्रममा आचारसंहिता विपरीत छिटपुट घटना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न संयन्त्रहरु परिचालन भएका जनाएको छ ।
उपचुनावका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ । उपचुनावमा दुई लाख २६ हजार सात सय ९९ मतदाता छन् । चुनावी सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने गरी सरकारले तयारी गरेको छ