बिर्तामोड-मेडिकल व्यवसायी दुर्गा प्रसाईको सचिवालयमा कार्यरत माधव कल्पित पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले कल्पितलाई बुधवार पक्राउ गरेको हो । क्षितिज नाट्य प्रतिष्ठान झापाका अध्यक्ष कल्पित प्रसाईको नागरिक बचाउ महाअभियानमा हिँडिरहेका छन् ।
बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईलाई प्रहरीले साइवर अपराधको कसुरमा मंसिर ४ गते पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका प्रसाईलाई भेट्न गएका बेला कल्पित पनि समातिएका हुन् । उनलाई साइवर व्युरोको जिम्मा लगाइएको छ ।
कल्पितकी श्रीमती सुजनाका अनुसार अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न अदालतले कल्पितलाई २४ दिनसम्म थुनामा राख्न आदेश दिएको छ ।
म्याद थप भएपछि कल्पितले प्रहरी हिरासतमा बिहीवार साँझदेखि अनसन सुरु गरेको श्रीमती सुजनाले बताइन् ।
कल्पित पक्राउ परेको सूचना बाहिर आएपछि शुभेच्छुकले बिनाशर्त उनको रिहाईको माग राखेर सरकारको कडा आलोचना गरेका छन् । झापा नाटक घरका संस्थापक कल्पित युवा रंगकर्मी हुन् । उनलाई अविलम्व रिहा गर्न परिवारजनको माग छ ।
श्रीमती सुजनाले समाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘एक पत्नी र एक आमाको हैसियतले, म मेरो श्रीमान् माधव कल्पितको जीवन रक्षार्थ सम्पूर्ण न्यायप्रेमी नागरिक, मानव अधिकारवादी संघसंस्था, र आम जनतासँग अपिल गर्दछु । मेरो श्रीमान् निर्दोष हुनुहुन्छ । उहाँले सधैं सत्य र न्यायका लागि आवाज उठाउनुभएको छ । सरकारको झुटा मुद्दा र षड्यन्त्रले उहाँलाई शारीरिक र मानसिक यातना दिइरहेको छ ।’