बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम भइरहेको छ ।
शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १,२,३,६ र ८ मा सञ्चालनमा छन् ।
वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण भईसकेको छ ।
उक्त सडकमा अहिले बिजुलीका पोल व्यवस्थापन गर्ने काम भईरहेको छ । यस्तै वडा नम्बर १ कै अतिथि सदन रोडमा आगामी हप्तादेखि काम सुरु हुने जनाईएको छ ।

यस्तै वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक र वडा नम्बर ८ को गरामनी- कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडकमा प्राइम लगाउने काम सम्पन्न भएको छ । उक्त सडकमा भोलिदेखि नै कालोपत्रेको काम सुरु गर्ने ठेकेदार नयन बरालले जानकारी दिनुभयो ।
यस्तै पूर्व पश्चिम राजमार्गबाट दक्षिण 'बुट्टाबारी एभरेष्ट स्कुल हुँदै हरिहर आश्रम देखि मियाबारी बिर्ताबजार जोड्ने सडकको एक हजार २४० मिटर सडक निर्माण कार्य भईरहेको छ ।
बाँकी रहेको ६२० मिटर सडक खण्डको भेरियसन गरी निर्माण गर्ने व्यवस्था मिलाउने कार्य भईरहेको नगरपालिकाले जनाएको छ ।
सोही योजना अन्तर्गत वडा नम्बर ६ को हरियाली सामुदायिक वनमा एउटा भवन निर्माणधिन अवस्थामा छ । सामुदायिक भवनको करिब ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार बरालले जानकारी दिनुभयो ।














