कनकाई , १७ मंसिर २०८१ , झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित हुनुभएको छ। हिजो भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठेका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मतका साथ निर्वाचित भएको  मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

उहाँले  निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ५७ वर्षीय तुलराम बस्नेतले तीन सय ५६ मत प्राप्त गर्नुभएको छ। 

सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसका ४५ वर्षीय राम गोपाल ओलीले तीन सय १७ मत, नेकपा माओवादी केन्द्रका ४९ वर्षीय गणेशबहादुर थापाले दुई सय ७७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५९ वर्षीय नारायणप्रसाद निरौलाले २६ प्राप्त गरेका छन् । 

यसैगरी, मंगोल नेशनल अर्गनाजेशनका ४९ वर्षीय पदनबहादुर तामाङले २० मत, जनमत पार्टीका ६९ वर्षीय शुकलाल राजवंशीले नौ मत, नागरिक उन्मुक्ति पार्टीकी २४ वर्षीया जनमुना राजवंशीले छ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३७ वर्षीय दलबहादुर श्रेष्ठले दुई मत प्राप्त गरेका छन् ।

Election-icon

कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि हिजो भएको उपनिर्वाचनमा ७१/ ५१ प्रतिशत अर्थात एक हजार पाँच सय १३ मत खसेको थियो ।

यहाँ एक हजार ५८ जना महिला र एक हजार जना पुरुष गरी कूल दुई हजार ५८ जना मतदाता रहेका छन् ।

कनकाई–६ मा गत २०७९ को स्थानीय तहको निर्वाचनमा एमाले दीर्घबहादुर थापाले पाँच सय आठ मत ल्याएर विजयी हुनुभएको थियो   भने हालका विजयी स्वतन्त्र उम्मेदवार ओलीले चार सय चार मत ल्याएर उपविजेता बन्नुभएको थियो ।