बिर्तामोड, पुस ४ । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
बिहीबारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो ।
कप्तान अञ्जन विष्टले विदेशी खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाए ।
३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए ।
चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे ।














