६ पौष २०८१ ,चन्द्र बस्नेत कनकाई, चन्द्र बस्नेत झापाको कन्काई नगरपालिका वडा नं. १ ले वडाका टोललाई समायोजन गर्ने भएको छ। वडामा टोल धेरै ठुलो भएर बजेट बाडफाड देखि विभिन्न सौलियत , अनुदान , सहयोग लगायत अनेकौं कार्यमा समस्याका कारण टोल घटाएर समायोजन गर्न लागिएको वडा कार्यलयले जनाएको छ।
यसै सिलसिलामा शुक्रबार वडाले छ्लफल तथा अत्तरक्रिया कार्यक्रम गरेको छ। वडा अध्यक्ष शुसिलकुमार पोखरेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा वडा सदस्य , वडा सचीव सहित अहिले वडामा रहेका १६ वटा टोलका संयोजक , तथा सचीव , वडाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि , जेष्ठनागरिक वडाका अध्यक्ष लगायतको उपस्थितिमा छ्लफल गरिएको थियोे ।

साविक सुरुङ्गा वडा न १ र २ मिलेर बनेको कनकाई एकमा टोल धेरै भएको भन्दै अहिलेका टोललाई समायोजन गर्न लागिएको वडा अध्यक्ष शुसिलकुमार पोखरेलले जानकारी दिनुभयो ।अहिले कनकाई वडा न. १ मा १६ वटा टोल रहेको र यसलाई घटाएर ९ वटा सम्म बनाउन लागिएको वडा अध्यक्ष पोखरेलले बताउनुभयो ।
टोल धेरै हुँदा विभिन्न सेवा सुबिधामा पनि समस्या हुने , बजेट वितरणमा पनि समस्या हुने , टोल भेलामा पनि उपस्थितिमा कोरम नपुग्ने अनेकौ कारणले पनि टोल समायोजन जरुरी रहेकै कारण टोल घटाउनु परेको वडा अध्यक्ष पोखरेलले स्पष्ट पार्नुभयो।
छलफल कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पोखरेलले वडामा विपन्न , गरिव असाय, अशक्तलाई सहयोग गर्ने देखि विभिन्न विकास निर्माणगर्न समेत समस्या भएकै कारणको अवगत गराउनुभएको थियोे ।
छ्लफल कार्यक्रममा वडाका राजनीतिक दलकातर्फबाट नेपाली काङ्ग्रेस वडा सभापति मनोज बस्नेतले टोल समायोजन गर्नु राम्रो कुरा हो तर टोल समायोजन गर्दा साविक वडा न १ मा ५ र साविक वडा न२ मा ४ वटाका दरले जम्मा ९ वटा टोल बनाउन सुझाप दिनुभएको थियोे ।
त्यस्तै नेकपा एमाले नगर सचीव युवराज अधिकारीले टोल समायोजन गर्दा क्षेत्रफलभन्दा भन्दा पनि जनसंख्याको आधारमा छुट्याउनु पर्नेमा जोड दिनुभयो ।जेष्ठ नागरिक वडा अध्यक्ष ऋषिकेष खतिवडाले टोल समायोजन संङसगै वडाबाट पाउने सेवासुविधामा जेष्ठ नागरिक , असक्त्त , अपांग , एकललाई प्राथमिकतामा राख्न सुझाव दिनुभएको थियोे ।
छलफलमा टोल संयोजक यादपप्रसाद अधिकारी , हरि बहादुराई, लक्ष्मीप्रसाद बराल, रुपेष बराल लगायतले विगतमा टोलले पाएको हक अधिकार, सेवा सुविधाको बारेमा अवगत गराउदै जनसंख्याको आधारमा एकद्वार प्रणालिबाट अघि बढ्न सुझाव दिएका थिए।
यता कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरमा रहेका अन्य कतिपय वडामा समेत टोल धेरै रहेको भन्दै समायोजन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संघ प्रदेशबाट प्राप्त हुने पैसामा विगत भन्दा आधा कटौतीहुने गरेकाले टोल धेरै हुँदा गाह्रो हुने सुनाउनु भएको थियोे ।
नगर प्रमुख पोखरेलले बजेट बाडफाड गर्दा टोलको आधारमा जाने भन्दै कृषि , स्वास्थ्य , विकास निर्माण सबै काम गर्न जति सानो टोल भयो त्यति सहज हुने विश्वास दिलाउनुभएको थियोे ।
नगरले वडालाई टोलकै आधारमा आवश्यकता र माग अनुसार मोटर वितरण , मकै छोडाउने मिसिन र स्पे ट्याग्ङ्की न्यानो कपडा , स्वास्थ्य विमा , च्याप कटर, आत्म निर्भरताका लागि स्वरोजगार सम्बन्धि तालिम , व्यवसाय सन्चालन गर्न किराना सामान वितरण , लैना गाई वितरण ,अन्यमा शिक्षा , खेलकुद लगायतमा पनि टोलकै सिफारिसको आधारमा सेवापाउने नगर प्रमुख पोखरेलले बताउनुभएको थियो ।
करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको छ ।
कार्यक्रमको संचालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो ।














