झापा । झापाको मेचीनगरमा फागुन १४, १५ र १६ गते ‘कला साहित्य उत्सव २०८१’ आयोजना हुने भएको छ । यो उत्सव यस वर्ष ‘पर्यावरण विमर्श’ विषयमा केन्द्रित हुनेछ । रिडर्स झापाले देही आर्ट, परिवर्तन थिएटर र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको सहकार्यमा पूर्वकै ठूलो बौद्धिक तथा कलात्मक मेला आयोजना गर्न लागेको हो ।
छ वर्षपछि पुनः आयोजित यस उत्सवमा वातावरणीय मुद्दालाई बहुआयामिक रूपमा उठाइने छ । चित्रकला, नाटक, फोटो प्रदर्शनी, विद्वत् प्रवचन र अन्तक्र्रिया सत्रमार्फत जलवायु परिवर्तन, प्रदूषण, वन्यजन्तु संरक्षण, कृषि प्रणाली र स्थानीय जीवनशैलीजस्ता विषयमा गहन बहस गरिनेछ ।
प्रमुख वक्ताका रूपमा वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ, भारतीय पर्यावरण अभियन्ता सोनम वाङ्चुक, धानको रैथाने प्रजाति संरक्षणमा लागेका वैज्ञानिक डा. देवल देब, जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती, कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल, भूगोलविद् डा. सबिन निङ्लेखु र नागरिक आन्दोलनमा सक्रिय डा. अनुप सुवेदी सहभागी हुनेछन् । त्यस्तै, साहित्यकार तथा समालोचक डा. अर्चना थापा, चर्चित फिल्म निर्देशक मीन भाम, र सङ्गीतकर्मी झुमा लिम्बु पनि विभिन्न सत्रमा आफ्नो विचार प्रस्तुत गर्नेछन् ।
पर्यावरणीय चिन्तन स्थानीय तहबाटै सुरु हुनुपर्ने मान्यता राख्दै आयोजक संस्थाहरूले उत्सवमा किसान, शिक्षक, विद्यार्थी र आम नागरिकको सहभागिता सुनिश्चित गर्न लागिपरेका छन् । स्थानीय रहनसहन, मौलिक संस्कृति र पर्यावरणीय संकटहरूलाई कलात्मक ढंगले प्रस्तुत गर्ने योजनासहित नाटक, गीत–सङ्गीत र प्रदर्शनीहरू आयोजना गरिँदैछ ।
मेचीनगरमा आयोजना हुने यो कला साहित्य उत्सव केवल स्थानीय कार्यक्रम मात्र नभएर समग्र देशकै लागि महत्वपूर्ण चिन्तन मेला बन्ने आयोजकको विश्वास छ । झापा क्षेत्रकै पर्यावरणीय मुद्दाहरू उठान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा जोडिनुपर्ने आवश्यकता औँल्याउँदै आयोजकले सञ्चारमाध्यमहरूसँग व्यापक प्रचार–प्रसारको आग्रह गरेको छ ।














