बिर्तामोड, ६ फागुन : बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिलाई प्रविधि मैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामाग्री बितरण गर्दै आएको बताउनु भयो ।

उहाँले कृषकहरुको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सिपमुलक तालिम र मेशिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने बताउनु भयो । 

कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले  कृषकले प्राप्त गरेका सामाग्रीलाई उपलव्धी मुलक बनाउन सबैलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै कृषक लयप्रसाद रिजालले नगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नु भयो ।


cbe2a608-54e7-4655-8fc4-e417f063e6a6

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर माग निवेदनका आधारमा चापकटर वितरण गरेको हो । ६० वटा निवेदन प्राप्त भएकोमा अनुगमन गरि यस वर्ष २५ जनालाई वितरण गरेको पशुपंछि तथा मत्स्य निकाश शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिनु भयो ।


चापकटर एउटाको मुल्य २९ हजार ५ सय रहेकोमा कृषकले १४ हजार ७५० रुपैयाँ लगानी गरेका छन् । नगरपालिकाले ३ सय वटा भन्दा बढी चापकटर यस अघि नै वितरण गरिसकेको छ ।