काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘यो सरकारले पर्फमेन्स दिन नसकेकाले एकै निमेषमा तथ्यहरू बाहिर आउने गरेका छन् । अन्ततः सरकारको नालायकीले नै गर्दा उनीहरू (राजावादी) आशावादी भएका हुन्,’ सापकोटाले भने ।आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतिमा नरमाउन पनि आग्रह गरे ।

‘हामीले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेल्दै आएका हौँ । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतिमा कोही लागेको छ भने त्यो दिवा सपना मात्रै हुन्छ,’ सापकोटाले भने ।

जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेको उनको भनाइ छ ।

‘पहिला राजतन्त्रले, राजाले गरेका कुकृत्यबारेमा नेपाली जनताले अहिले पनि बिर्सिएका छैनन्,’ सापकोटाले भने, ‘नेकपा माओवादी केन्द्रका साथीहरू समाजवाद निर्माणको लाइनमा लागिसकेका छन् ।’