काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुनमात्र ३ दिन बाँकी छ । चैत ५ गतेको चुनावका लागि भोलि राति १२ बजेसम्म प्रचारप्रसारको समय निर्धारण गरिएको छ। 

हिजोदेखि उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन्। स्ववियु चुनावमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच नै भीडन्त हुने देखिएको छ ।

स्ववियु चुनावले काठमाडौँ उपत्यकाका क्याम्पसमा मात्र होइन देशभरिका क्याम्पसमा माहोल तातिएको छ। अरु वेला तालाबन्दी, आन्दोलन र धर्नामा दिन बिताउने विद्यार्थी नेताहरु चुनावका वेला विद्यार्थीका समस्या, विश्वविद्यालयमा देखिएका बेथितिको अन्त्यका लागि आफूहरु सधैँ विद्यार्थीको साथमा रहने भन्दै चुनावी नारा लगाइरहेका छन्। 

सत्तारुढ दल नेकपा एमालेनिकट अनेरास्ववियु (त्रिवि) बाट अध्यक्षका उम्मेदवार सिद्धान्त भट्ट आफूले विगतमा गरेका कामले चुनाव जित्ने दावी गर्छन्।

विश्वविद्यालयमा भएका समस्या र मुद्दाहरुका विषयमा अनेरास्ववियुले विभिन्न समयमा आवाज उठाउँदै आएकोले  विद्यार्थीको आकर्षण अनेरास्ववियुमा बढेको उनको दाबी छ । उनी चुनाव जित्नेमा विश्वस्त छन् । 

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका अर्का उम्मेदवार दीपकराज जोशी रुपान्तरणसहितको सार्वजनिक शिक्षा, गुणस्तरीय शिक्षाका लागि पहलकदमी भन्ने मुख्य एजेण्डासहित चुनावी मैदानमा छन्।

विश्वविद्यालयमा अनुसन्धानको विकासदेखि भौतिक संरचनाहरुमा विशेष पहलकदमी, दबाब सिर्जना गर्नेलगायत एजेण्डासहित प्रतिष्पर्धामा रहेको उनले बताए।  दुई ठूला दललाई विपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत अरु साना दललेमात्र होइन केही स्वतन्त्र उम्मेदवारले पनि चुनौती दिइरहेका छन्। 

स्वतन्त्र उम्मेदवार उज्जवलबहादुर खड्का प्रधानमन्त्रीलाई कुलपतिबाट हटाएर स्वायत्र् तरिकाले विश्वविद्यालय संचालन हुनुपर्नेदेखि त्रिविका अनुसन्धान केन्द्रहरुलाई पुनःपरिमार्जन गर्नेसम्मका एजेण्डा लिएर मैदानमा उत्रिएका छन्।