काठमाडौं, १० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । देशको राजनीतिक अवस्थामा फेरबदल र संकटको संकेत देखापरेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डसँग अलिक गम्भीर कुरा गर्न चाहेको बताईन्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र राजावादीहरुको आन्दोलनको विषयमा ओलीले दाहालसँग अलिक पहिल्यै नै कुरा गर्न चाहेका थिए । तर, प्रचण्डले नै भेट टारेपछि त्यो सम्भव नभएको बताईन्छ । प्रचण्ड पार्टीको अभियानकै बीचमा आज काठमाडौं आउने कार्यक्रम तय भएको छ ।


टिआरसी टुँगो लगाउने विषयमा मुख्य तीन दलका नेतृत्वबीच छलफल हुने भनिएको छ । तर, त्यसअघि ओलीले दाहालसँग छुट्टै भेटवार्ता गर्न चाहेका छन् । सरकारविरुद्ध चौतर्फी घेराबन्दी भएको विषयमा ओलीले कहिल्यैपनि मुख खोलेका छैनन् । र, खोल्ने पक्षमा पनि छैनन् ।


तर, व्यवस्थाको विरुद्धमा सडकबाटै धावा बोल्न थालिएपछि भने ओलीले प्रचण्डसँग सबैखाले तिक्तता बिर्सिएर फेरि एकपटक गम्भीर वार्ता चाहेका छन् । अहिलेको राजनीतिक परिस्थितिबारे पार्टीभित्रका विश्वासपात्रसँग निरन्तर सम्वादमा रहेका प्रधानमन्त्री ओलीले अहिले व्यवस्थाको विरुद्धमा आन्तरिक र बाहृय दुवै शक्तिले संगठित रुपमा प्रहार गर्न थालेको निश्कर्ष निकालेका छन् ।


यस्तोमा गणतन्त्रका पक्षधरहरु मिल्नुपर्ने बालुवाटारको बुझाई छ । प्रधानमन्त्री ओलीले गत साता प्रचण्डसँगको भेट तय गर्नको लागि आफ्ना दूतको रुपमा अग्नि खरेललाई खुमलटार पठाएको पाईएको छ । खरेल हालै प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकार नियुक्त भएका छन् । खरेल टिआरसी टुँगो लगाउनेगरि उक्त पदमा नियुक्त भएका हुन् ।