समाजवादी मोर्चाले शुक्रबार भृकुटीमण्डप र राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन्। राजसंस्था फर्काउन राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार आन्दोलन गर्दै छ। त्यसको नेतृत्व राप्रपाकै नेता दुर्गा प्रसाईंले गर्दै छन्। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी प्रसाईंलाई दिएको हो।
जनआन्दोलन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै संवैधानिक राजसंस्थाको पुनस्र्थापना र सँगसँगै सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो। चैत १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए।
उनले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस भन्ने चाहना रहेको बताए।
यसबाट संविधान र व्यवस्था दुवैमा संरचनागत पुनरावलोकन गर्न सकिने उनको भनाइ छ। संयोजक सुवेदीले हिजो गणतन्त्र खोजेका जनताले अहिले पुन राजसंस्था खोजेको उल्लेख गर्दै राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था आवश्यक रहेको धारणा बताए।














